स्याङ्जा । स्याङ्जाको लत्रेपिपलमा तेश्रो लत्रेपिपल तथा साँस्कृतिक मेला–२०७६ सुरु भएको छ।
आजदेखि सुरु भएको मेलाको पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीले एक कार्यक्रमकाबीच उद्घाटन गरेकी हुन्। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख क्षेत्रीले आफ्नो नगरपालिकाको विकासका लागि कहिल्यै पछि नहट्ने बताइन्। साथै उनले युवाले गर्ने यी र यस्ता कार्यक्रममा आफूले सधै सहयोग गर्ने बताइन्।

कार्यक्रममा वडा नम्बर ३ कार्यवहाक सभापति तेजप्रसाद शर्मा, पर्यटन प्रवर्द्धक अन्नत कुमार श्रेष्ठ, काँग्रेस नेता दिर्घ नारायण मरासिनी, रेडियो स्याङ्जाका प्रबन्धक रमेश गोदार, पत्रकार महासंघ स्याङ्जाका सभापति ओम प्रकाश शर्मा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका सभापति धु्रव शर्माले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । लत्रेपिपल क्लबले आयोजना गरेको कार्यक्रम भोलिसम्म चल्नेछ। कार्यक्रममा सञ्चार जगतमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार गोबिन्द मरासिनीलाई सम्मान गरिएको छ। उनलाई कार्यक्रमकी प्रमुख अतिथि प्रमुख क्षेत्रीले प्रमाणपत्र र क्लवका अध्यक्ष शर्माले माला लगाएर सम्मान गरेका हुन्।

नयाँ पुस्ता डटकमका कार्यकारी सम्पादक समेत रहेका मरासिनीले विशेषतः स्याङ्जा जिल्लाको पर्यटन र स्याङ्जाको कलाकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन्।
मौसमले साथ नदिदा पनि गायक खुमनले तताए माहोल
प्रतिकुल मौसमका बाबजुत पनि मेलामा चर्चित स्याङ्जाली गायक खुमन अधिकारीले माहोल तताएका छन्। उनले आफ्ना चर्चित गीत गाउँदा दर्शकले पानीको प्रवाह नगरी साथ दिएका थिए।
कार्यक्रममा अधिकारीसँगै घनश्याम रिजाल र स्थानीय कलाकारको प्रस्तुतिबाट पनि दर्शकले भरपुर मनोरञ्जन लिए। कार्यक्रममा भोलि (दोश्रो दिन) चर्चित गायक पशुपति शर्मा, चर्चित लोकदोहोरी टिम ईन्द्रेणी टिम लगायतको प्रस्तुती रहने क्लवका सचिव मोती मरासिनीले नयाँपुस्तालाई जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
