काठमाडौं । यतिबेला देश उपनिर्वाचनको रौनकमा छ । देशका बिभिन्न ठाउँमा हुने उपनिर्वाचनले राजनीतिक माहोल तताएको छ । शिर्षस्थ नेताहरु देश दौडाहामा छन् । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र कास्की–२ मा सबैको ध्यान केन्द्रीत भएके छ ।
उपनिर्वाचनमा कास्की–२ मा मुलत सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । सरकारले आफूले गरिरहेका कामहरुको प्रचार गर्दै चुनावी मैेदानमा उत्रिएको छ भने प्रतिपक्ष दलले सरकार अलोकप्रिय बन्दै गरेको, यसअघिका चुनावी प्रतिबद्धता पूरा नगरेको लगाएतका बिबिध एजेण्डा सहित जनतामाझ गएका छन् ।
जनताले चाहे अनुरुपको कार्य गर्न नसकेको, मन्त्रिमण्डल हेरफेर गरेर अनुहार मात्र फेरेको, राष्ट्रियताको बिषयमा केहि बोल्न नसकेको लगायतका आरोपहरु लागिरहेका छन् । के सरकारले जनताका समस्या, राष्ट्रियताका बारेमा बोल्न नसकेको हो त ? २ पार्टी मर्ज भइसकेको अवस्थामा नेकपा भित्रै पनि असन्तुष्टी छ । सरकारका कामका विषयमा पनि पार्टीभित्रै चरम विवाद रहेको बिभिन्न समयमा आउने नेताहरुका भनाइबाट प्रष्ट हुन्छन् ।
यसै सन्दर्भमा नजिकिएको उपनिर्वाचन, नेकपा भित्रको आन्तरिक द्धन्द्ध, सरकारको उपलब्धी र कमजोरी उपनिर्वाचनका सन्दर्भमा नयाँपुस्ता डटकमले नेकपाकी केन्द्रीय सदस्य दिलु पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । साविकको नेकपा (एमाले) लामो समयसम्म बिधार्थी र युवा संघ नेपालमा राजनीति गरी महिलाका विविध पक्षमा आवाज उठाउँदै आएकी नेतृ पन्त तत्कालीन एमालेको भातृ संस्था युवा संघ नेपालकी पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन्
उपनिर्वाचको तयारी कस्तो छ ?
देशका बिभिन्न स्थानमा उपनिर्वाचन हुने भएपनि सबैको ध्यान कास्की– २ मा केन्द्रित भएको छ । कास्की–२ मा नेकपाले चुनाव जित्छ । यो हाम्रो लाल किल्ला हो ।
तपाईंहरूले उपनिर्वाचन जित्ने आधार के छन् ?
निर्वाचन हामीले जित्नुपर्ने र जित्ने थुप्रै आधारहरु छन । त्यस क्षेत्रमा नेकपाले गरेको र स्व. रबिन्द अधिकारीज्यूले खेलेको भूमिका र पार्टीले हालसम्म त्यो क्षेत्रमा नहारेको भएकोले, नेकपाका नेताहरुबीच त्यस क्षेत्रमा मतबिवाद नभएकाले र मतदाताहरु पनि पहिले पनि रबिन्द्र अधिकारीलाई रोजेका थिए र अब क. बिद्यालाई रोज्छन् भन्नेमा म ढुक्क छु ।
सरकारका पछिल्ला काम, कारबाही जनताले त्यति रूचायनन् नि ?
सरकार र पार्टी भनेका एक सिक्काका दुई पाटा हुन् । हिजोका दिनमा चुनावमा भनिएका विविध कुराहरुलाई पुरा गर्नका लागि पार्टीले सरकार गठन गर्ने हो । सरकारलाई पार्टीले प्रतिनिधि दिने हो । हिजोदेखि जनताहरुसँग पार्टीले गरेका प्रतिबद्धताहरु र घोषणापत्रमा भएको कुराहरु कार्यान्वयन गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने हो । अहिले एकै ब्यक्तिले दुईतीर सरकार र पार्टी नेतृत्व गरेको हुनाले जति हुनुपर्ने हो त्यती काम नभएको हो कि भन्ने चाहि हो । प्राथमिकताका आधारमा पहिला कुन काम गर्ने कुन पछि गर्ने भन्ने नमिलेको हो कि भन्ने लागेको छ । पहिला गर्ने भन्दा भन्ने कुरा धेरै भएकाले जनतामा अलिक नराम्रो असर परेको हो कि जस्तो मलाई लाग्छ ? तत्कालै सरकारले समाधान गर्नुपर्ने कुराहरु, जनताका ज्वलन्त समस्याहरु सम्बोधन गर्नुभन्दा पनि अन्यन्त्र ध्यान केन्द्रित हुनु र चर्चित हुन खोजेको कहि कतै जस्तो देखिन्छ ।
तपाईले २ पद एकै ब्यक्ति भएको प्रति संकेत गर्नुभयो ? ओलीले अध्यक्ष छाड्नुपर्यो भन्नुभएको हो ?
हरेकमा हरेको जिम्मेवारी हुन्छ । आखिर एकता त भइनैसक्यो । अब पार्टीको नेतृत्व जसले जसरी लिएपनि पार्टीलाई एक्जुट र एकढिक्का बनाएर अगाडी वढ्नुपर्छ भन्ने नै हो । आज पार्टीको बैठक पनि बस्नु छ उता सरकारको पनि काम गर्नुपर्ने छ मिलेन नी त ? सबैलाई कार्यबिभाजन न्याचोति देखिन्न । राजधानीमा बस्नेहरुले जिल्ला तहको नेतृत्व लिएर पनि भएन । पार्टीभित्र बैठकहरु समयमा सञ्चालन नहुने, सरकारले गरेका लोकप्रिय कामको बारेमा जनतालाई जानकारी दिन नसक्नु जस्ता समस्या छन् । पार्टीको केन्द्रिय कमिटीको बैठक नबसेको १९/२० महिना भैसक्यो बैठक नबस्दा हामी केन्द्रिय कमिटीका साथीहरुलाई नै पनि सरकारले गरेका कतिपय कुराहरु थाहा हुन्न ।
सरकारले लोकप्रिय काम गरेको भनेपनि जनता त्यति सन्तुष्ट देखिन्न नि ?
केही कामहरु यस्ता छन् जुन कामले दुरर्गामी असर पार्ने खालका छन् । जस्तै, त्रिशुल जलविद्युत आयोजना, सामाजिक सुरक्षा भत्ता लगायतका अन्य महत्वपूर्ण बिकास निर्माणका कामहरु गाउँदेखि शहरसम्म भएका छन् । स्थानीय तहबाट पनि यी कामहरु भएका छन् । तर ती कामहरु लामो समय जनप्रतिनिधि बिहिन भएको बेलामा नेकपाले सरकार २ तिहाईको चलाएकोले अन्य दलहरुले र अन्तर्राष्ट्रिय शक्तिहरुले पनि हेरिरहेको बेलामा हामीले आफूलाई भन्दा देश र जनतालाई हेर्नुपर्ने थियो । झट्ट हेर्दा ब्यक्तिमा केन्द्रित भएको जस्तो भान हुन्छ । यो हुनुमा पार्टीको कमिटीहरु नचल्नु, पार्टीको एकताको प्रक्रिया ढिला हुनु, जति छलफल गर्नुपर्ने त्यति कुराहरु नभएको कारणले पनि हो ।
जनता र प्रतिपक्षी दलले सरकारले हावादारी गफ मात्र दियो भन्छन त ?
प्रतिपक्षले २ वटा काम गर्नुपर्छ । एउटा उसको बिजनेश चलाउनुपर्छ । अर्को सरकारलाइ सचेत बनाउनुपर्छ । तर तथ्यको आधारमा गरिदिनोस भन्ने हो । दोश्रो कुरा प्रतिपक्षले सत्तारुढ पार्टीलाई सहि ढंगले गुण र दोषका आधारमा बिरोध गर्नुपर्छ । राम्रो कामलाई सघाउनुपर्छ नराम्रो काममा खबरदारी गर्नुपर्छ । सरकारको भन्दा पनि अझ वढि जिम्मेवारी प्रतिपक्षको लाग्छ । तर नेपालको सन्दर्भमा नेपालको प्रतिपक्ष त्यति शशक्त देखिन्न । प्रतिपक्ष दल रचनात्मक, अध्यनशील, आरोप लगाउने कार्यमा मात्र अगाडी छ ।
नेकपाको नेतृत्व तहमै ३३ प्रतिशत पनि महिला देखिन्न ? अझ नेकपा नेतृत्वको सरकारको मन्त्रिमण्डलमा त महिला सहभागिता लाजमर्दो अवस्थामा छ । तपाई महिला भएर पनि किन बोल्नुहुन्न ?
हो तपाईले भनेको साँचो हो । म आफै पनि केन्द्रिय कमिटिमा ३३ प्रतिशत भित्र परेको गएको होइन् । अहिले हाम्रो केन्द्रिय कमिटीमा ४ सय ४७ जनाको केन्द्रिय कमिटिमा करिब १६ प्रतिशत महिला हुनुहुन्छ । त्यो भनेको संविधान कार्यान्वयन नभएको हो । सत्तापक्षबाट नै संविधान कार्यान्वयन नहुनु लज्जास्पद कुरो हो । पार्टीका माथिल्लो तहमा पुगेका महिलाहरुले पनि कुरा उठाउनुहुन्न उहाँहरुलाई आफू मात्र पुगे हुने जस्तो देखिन्छ । पार्टीभित्रको गुटबन्दीले पनि यसमा असर गरेको छ । जो नेता निकट छ उसलाई काखी च्याप्ने र अरु सक्षमलाई अवसर नहुँदा राजनीतिबाट बाहिरिने भएको छ । सरकारमा महिला सहभागिता हेर्ने भने त मेरो असहमति नै हो । हाम्रो पार्टीभित्र संसदभित्र ३३ प्रतिशत महिला त पक्कै हुनुहुन्छ तर मन्त्री बनाउने बेलामा किन बनाईएन् । ‘‘नेपालको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि पुरुष मित्रको नै उपस्थित भएछ’’ भनेर सामाजिक सञ्जालमा लेखेको पनि छु ।
छिमेकी राष्ट्र भारतले सीमाना मिचेको विषयमा सरकार र नेकपा किन कडा रुपमा प्रस्तुत हुँदैन ?
सरकारले बोल्दै बोलेन भन्न त अलि नमिल्ला । नेपालभित्र त बिभिन्न कार्यक्रमहरुमा प्रधानमन्त्रीज्यू बोल्नु भएकै छ । जुन २ देशबीचमा पहल गर्नुपर्ने हो त्यति पहल चाहि नभएको हो कि भन्ने कता कता लाग्छ । पहिलादेखि भूमी मिचियो, अघिल्ला सरकारहरुले त्यसलाई रोक्न सकेनन् आफ्नो भन्न सकेनन् । तत्कालिन चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीले हाम्रो देशको भूमीमा हाम्रो अनुपस्थितमा सुख्खा बन्दरगाहाको लागि सम्झौता गर्नुभयो । त्यतिखेर हामीले त्यसको बिरुद्धमा आन्दोलन गरेका थियौं । हस्ताक्षर संकलन देखि गोष्टीहरु गर्यौं । त्यतिखेर हामीले तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाई पनि ज्ञापन पत्र बुझाएका थियौं । परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण पनि गराउनुभएको थियो । पछि एकाएक राजनीतिक धुब्रीकरण पछि त्यत्तिकै सेलायो । त्यतिखेरसम्म त भारतले नेपालको भूमी आफ्नो नक्सामा राखेको थिएन् । मेरो विचारमा त्रिपक्षीय हुन्छ कि द्धिपक्षीय हुन्छ कुटनीतिक माध्यमबाट नै मिलाउनुपर्छ । हाम्रो भूमी फर्काउने राष्ट्रियताका बिषयमा जनता, प्रतिपक्ष, सत्तापक्ष लगायत एकजुट हुनुपर्छ ।
अघिल्लो पटक भारतले नाकाबन्दी गर्दा निकै राष्ट्रवादी देखिएका प्रधानमन्त्री ओली अहिले सीमा नै मिचिँदा किन सुस्त देखिनु भो ?
राष्ट्रियताको सबालमा हाम्रो कम्युनिष्ट पार्टी कहिल्यै पनि पछि हट्दैन् । हाम्रो पार्टी स्थापनाकालदेखि नै राष्ट्रियताका सवालमा अगाडी नै छ । २०७२ सालसहित भारतले हालसम्म ४ पटक नाकाबन्दी गरेको छ त्यति बेलामा हामी सदैब राष्ट्रियताको पक्षमा उभिएका छौं । हामी राष्ट्रको निम्ती महिनौं भोकै बस्न सक्छौं तर राष्ट्रियताको बारेमा कुनै सम्झौता गर्दैनौं भनेर सँधै डटेर लडिरहेका छौं । अहिले स्वभाविक हो हामी सत्तामा भएकाले पनि त्यो बेला जस्तो बोल्न नमिले पनि संयमित भएर अन्तर्राष्ट्रिय सम्बन्धमा खलल नपुग्ने गरी कुटनीतिक पहल गर्नुपर्छ भन्ने मेरो बिचार हो । पार्टीका बिभिन्न तह, तप्का र बिद्यार्थी संगठनहरु पनि एकजुट भएर यस बिषयमा बहस गरिरहेकाले सीमानाका विषया छिट्टै निकास निस्किएला भन्ने लाग्छ ।
तपाई महिला नेतृ भएर महिलाका विषयमा के–के काम गर्नुभयो त ?
म स्वयंम पनि महिला भएको हुनाले मैले राजनीतिमा लागेर जतिखेर विद्यार्थी आन्दोलनमा लागेँ, जतिखेर युवा आन्दोलनमा लागेँ त्यो बेला अहिलेको अवस्था भन्दा धेरै बिकराल अवस्था थियो । महिला आन्दोलनले भोग्नुपरेका समस्याहरु, अरु महिलाहरुले भोग्नुपरेका समस्याहरु, महिला अधिकारकै निम्ती धेरै लडे भन्ने लाग्छ । सामुदायिक मुद्धाहरु, युवाका बिषयमा, महिलाका बिषयमा धेरै कामहरु गरेकी छु । अहिले नेकपाको केन्द्रीय सदस्य भईरहँदा झन यो त पुरा देशकै बारेमा, आगामी दिनमा नेकपा कस्तो बनाउने, पार्टीलाई भविष्यमा कसरी अगाडी बढाउने, समृृद्ध नेपाल कसरी बनाउने भन्ने लगायतका जिम्मेवारी थपिएको आभाष भएको छ । सरकारले गर्न सकेका राम्रा काम र गर्न नसकेका बाँकी कामलाई सम्पन्न गर्न अझै पहल गर्नुपर्छ भन्ने लाग्छ ।
हामीले सोध्न बिर्सिएका र तपाईले भन्नु चाहेका केही विषय छन् कि ?
उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ । यस अघिका निर्वाचनमा विजयी भएका स्थानमा अहिले उप निर्वाचन हुँदै छ । नेकपाले चुनाव हारेको खण्डमा एकताको प्रक्रिया र सरकारको कार्यशैलीको बिषयमा प्रश्न उठ्छ भनेर प्रतिष्ठाको कुरा बनाएका छौं । सरकारले अलिकति चर्चामा आउने कुरा मात्र गर्नु भन्दा जनताको महँगी, बाटो, घाटो, ट्राफिक जाम, स्वास्थ्य उपचार लगायतका जनताका सरोकारका बिषयमा महत्वपूर्ण किसिमले सरकार जिम्मेवारी बन्नुपर्छ । अनि जनताको साथ र सहयोग अझै पाइन्छ भन्ने मेरो बिचार हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
