काठमाडौँ । सुरक्षामा खटिएका एक प्रहरी जवानले बैंकलाई नै झुक्याएर बढी भुक्तानी लिएको खुलेको छ । पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा कार्यरत प्रज राजेश द्विवेद्वीले चेक किर्ते गरी बैंकबाट बढी रकम झिकेको कसुरमा उनलाई निलम्बन गरिएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार घटनापछि द्विवेद्वीलाई हिरासतमा राखी कारबाही सुरु गरिएको छ । उनले राष्ट्रिय वाणिज्य बैंकमा आफ्नै नाममा रहेको खाताबाट आफनै नाममा काटिएको चेकले कसरी ६३ हजार ठगी गरे रु घटना रोचक र अनौठो छ । उनको खाता नम्वर १२७००००१८५१ डी हो।
यो खातामा प्रहरीले तलब पठाउने गर्छ । बिहीबार जलेश्वरस्थित राबा बैंकमा उनले आफ्नै नाममा काटिएको ३ र ४ हजारको २ चेक भुक्तानी लिन गए। बैंक प्रबन्धक शिवशंकर यादवका अनुसार द्विवेद्वी युनिफर्ममा बैंक पुगेका थिए । ड्युटीमा रहेको ठानी बैंककर्मीले उनको सहुलियतका लागि प्रशासन काउन्टरमा पठाए ।
बैंकमा सामान्य ग्राहकको जेनरल काउन्टर र बिरामी लगायत विशेष अवस्थाका ग्राहकको सहुलियतका लागि प्रशासन काउन्टरबाट चेक भुक्तानी दिने व्यवस्था मिलाइएको हुन्छ । जेनरल काउन्टरमा ग्राहकको भिड रहन्छ । यो काउन्टर पुगेको चेक कम्प्युटर मिलान र भुक्तानी एकै ठाउँबाट हुन्छ।
तर, प्रशासन काउन्टरले भने चेकलाई कम्प्युटर रुजु गरी भुक्तानीका लागि अर्को काउन्टरमा पठाउँछ । यसमा भिड नहुँदा सहज भुक्तानी हुन्छ । यहींबाट द्विवेद्वीले बदमासी गरेको प्रबन्धक यादवको भनाइ छ। प्रशासन काउन्टरले उनको खाताबाट चेक रकम अनुसारको ३ र ४ हजार रुपैयाँ कम्प्युटर मिलानसहित सही पनि गर्यो। त्यो चेक लिएर भुक्तानी काउन्टरमा जाने बेला द्विवेद्वीले अंक र अक्षर थपे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
