पुतलीबजारको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

कृषि आत्मनिर्भरता, युवा स्वरोजगारदेखि सडक व्यवस्थापनसम्मका विषय उठान

पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिक अवधिमा गरेका काम, सेवा प्रवाह, नीति, योजना तथा कार्यक्रमका सम्बन्धमा सार्वजनिक सुनुवाइ गरेको छ। सोमबार पुतलीबजार नगरपालिका–११ स्थित करेण्डाँडा स्वास्थ्यचौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा नागरिकले कृषि आत्मनिर्भरता, युवा स्वरोजगार, खानेपानीका मुहान संरक्षण, सडक व्यवस्थापन र पूर्वाधार विकासलगायतका विषयमा जिज्ञासा, गुनासा तथा सुझाव राखेका छन्।

नागरिकका जिज्ञासा र धारणाहरुको जवाफ दिदै नगर प्रमुख तुलसीराम रेग्मीले नागरिकका जिज्ञासा, गुनासा र सुझावलाईनगरपालिकाको नीति, योजना तथा सेवा प्रवाह सुधारका लागि महत्त्वपूर्ण आधारका रूपमा लिँदै प्राप्त सुझावको सम्बोधनमाआवश्यक पहल गर्ने बताए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदीले नगरपालिकाका कामकारबाही तथा सेवा प्रवाहबारे जानकारी दिँदै नागरिकबाट उठेका जिज्ञासाको जवाफ दिए। यस्तै, वरिष्ठ प्रशासकीय अधिकृत धनप्रसाद कोइरालाले सार्वजनिकसुनुवाइको औचित्य, नागरिकप्रतिको जवाफदेहिता र सेवा प्रवाहका विषयमा जानकारी गराए भने योजना अनुगमन शाखाप्रमुख डोलराज ढकालले प्रथम चौमासिक अवधिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

Advertisement

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर उपसभापति गुरु प्रसाद ढकाल र नेपाली कांग्रेसका नगर सभापति सुरज कुमार अधिकारीले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा आगामी योजनाका सन्दर्भमा सुझाव र धारणा राखेका थिए भने पुतलीबजार नगरपालिकाका नगर प्रबक्ता मनोज पौडेल सहित विभिन्न वडाका वडा अध्यक्षहरु,जनप्रतिनिधि,कार्यपालिकासदस्य,सन्चारकर्मी,नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधि, वडा न ११ संगै  १२,१० र १३ का आम नागरिकको समेत सहभागिता थियो।

कार्यक्रममा सहभागी नागरिकले अकबरे खुर्सानी खेतीलाई विशेष लक्ष्यसहित प्रवर्द्धन गर्नुपर्ने, कृषिमा आत्मनिर्भरता हासिल गर्न उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा युवा स्वरोजगारका लागि साझेदारीमा आधारित कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए। त्यसैगरी कृषि तथा अन्य उत्पादनको बीमा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने, पानीका मुहान संरक्षण, सरसफाइ, सडकको भल व्यवस्थापन, बाँदर नियन्त्रण तथा आवश्यक स्थानमा सडकको नयाँ ट्र्याक खोल्नुपर्ने विषय पनि उठाइएको थियो। सार्वजनिक सुनुवाइमा पुतलीबजार नगरपालिका–११ का भूमिजङ्ग केसी ढुंगाना, गंगा अर्याल, यामबहादुर थापा पराजुली र तेजनारायण रेग्मी तथा वडा नं. १३ का बृहस्पति अर्याललगायत नागरिकले आफ्ना जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका थिए। किशोरी गैह्रेले पनि कार्यक्रममा धारणा राखेका थिए।

नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख देवी अर्यालको स्वागत मन्तव्य व्यक्त गरिन। कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन सामुदायिक रेडियो स्याङ्जा एफएम र स्याङ्जा टेलिभिजनले गरेका हो। सञ्चारकर्मी रमेश गोदारद्वारा सञ्चाललित कार्यक्रममा वडा नं. ११ का वडा सदस्य विष्णुबहादुर पराजुलीले धन्यवाद मन्तव्य व्यक्त गरे।

More News last news
Loading...