तीजको दर र पुरस्कारका लागि छुट्टाइएको ६४ हजार बढी रकम बाढीपीडितका लागि सहयोग

तीजको उत्सवमा खर्च हुने रकमलाई विपद्मा परेका नागरिकको राहतमा समर्पित गर्दै पुतलीबजारका दुई सामाजिक संस्थाले उदाहरणीय मानवीय पहल गरेका छन्। पुतलीबजार नगरपालिका–१, दुर्गानगरस्थित दुर्गानगर सांस्कृतिक समूहले रु. ३४ हजार ७१५ र देवीकालीका आमा समूहले रु. ३० हजार गरी कुल रु. ६४ हजार ७१५ बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि प्रदान गरेका हुन्।

दुर्गानगर सांस्कृतिक समूहले अघिल्लो वर्ष तीज गीत प्रतियोगितामा प्राप्त पुरस्कार रकमको केही हिस्सा, संस्थाले छुट्याएकोरकम तथा सदस्यहरूबाट सङ्कलित रकमलाई एकमुष्ट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। साथै, यस वर्ष तीजमा दर खाने तथा अन्य सामाजिक प्रयोजनका लागि छुट्याइएको रकममध्ये केही रकमसमेत विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरिएको समूहले जनाएको छ।

Advertisement

त्यस्तै, देवीकालीका आमा समूहले तीजमा दर खाने प्रयोजनका लागि छुट्याइएको रकममध्ये केही हिस्सा तथा समूहमा आबद्ध सदस्यहरूबाट सङ्कलित रकम गरी रु. ३० हजार सहयोग गरेको हो। दुवै संस्थाले जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत सम्बन्धित कोषमा रकम जम्मा गरेका छन्।

रकम हस्तान्तरणका क्रममा दुर्गानगर सांस्कृतिक समूहका कानुनी सल्लाहकार छायादत्त सापकोटा, सल्लाहकार पुण्यप्रसाद हमाल, सचिव विनोद घताने, सांस्कृतिक संयोजक सफल सापकोटा तथा अमृत बि.क. लगायतको सहभागिता रहेको थियो।

More News last news
Loading...