अर्जुनचौपारी गाउँपालिकाको घोषणा : चालक–सहचालकलाई १० लाखको बिमा

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले दैनिक रूपमा जोखिम मोलेर यात्रु तथा मालसामान ओसारपसारमा खटिने चालक र सहचालकको सुरक्षालाई मध्यनजर गर्दै दुर्घटना बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बिमाको सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।

गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको यो कार्यक्रमबाट जिप, टेम्पो, बस, ट्र्याक्टर तथा टिपरमा कार्यरत चालक र सहचालक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

Advertisement

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै इच्छुक चालक तथा सहचालकलाई आवश्यक कागजातसहित सात दिनभित्र आवेदन दर्ता गर्न आग्रह गरेको छ। तोकिएको समयसीमा नाघेर प्राप्त हुने निवेदनलाई समावेश नगरिने जनाइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार जोखिमपूर्ण पेशामा संलग्न चालक तथा सहचालकको आर्थिक सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको हो।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले यातायात सेवा सञ्चालनमा चालक तथा सहचालकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै दुर्घटना वा आकस्मिक जोखिमको अवस्थामा उनीहरूलाई आर्थिक संरक्षण प्रदान गर्ने उद्देश्यले बिमा कार्यक्रम ल्याइएको बताए। उनका अनुसार आगामी दिनमा पनि श्रमिकमैत्री तथा नागरिककेन्द्रित कार्यक्रमलाई निरन्तरता दिइनेछ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित श्रेणीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधनको नवीकरण भएको ब्लुबुकको प्रतिलिपि तथा सहचालकका हकमा सवारी धनी वा व्यवसायी समितिको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले योग्य चालक तथा सहचालकलाई समयमै आवेदन दर्ता गरी कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ।

More News last news
Loading...