काठमाडौँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३, ढुंखर्कस्थित श्री कृष्ण गोपाल माध्यमिक विद्यालयमा आयोजना गरिएको दुई दिवसीय “निःशुल्क स्वास्थ्य शिविर–२०८३” सम्पन्न भएको छ ।
एनसिसि अल्मुनाई एशोसिएशन नेपालको आयोजना, राष्ट्रिय सेवा दल र नेपाली सेनाको मुख्य प्राविधिक सहयोग तथा बेथानचोक गाउँपालिकाको स्थानीय समन्वयमा जेठ २९ र ३० गते शिविर सञ्चालन गरिएको शिविरमा ६०१ जना स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
सैनिक–नागरिक सम्बन्ध’ सुदृढ बनाउने र ग्रामीण भेगका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजित शिविरमा नेपाली सेनाका वरिष्ठ विशेषज्ञ चिकित्सकसहितको १५ सदस्यीय मेडिकल टोलीले बिरामीहरूको स्वास्थ्य जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरेको थियो।
समारोहको समुद्घाटन श्री मेहर गणका गणपति प्रमुख सेनानी झलक सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय सेवा दलका तालिम योजना तथा समन्वय अधिकृत विमल केसी, बेथानचोक गाउँपालिकाका जनप्रतिनिधिहरू, नेपाली सेना तथाका वरिष्ठ अधिकृतहरू, स्थानीय समाजसेवी, श्री कृष्ण गोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो।
शिविरका क्रममा आधारभूत स्वास्थ्य परीक्षणदेखि रक्तचाप, मधुमेह (सुगर), नाक, कान, आँखा तथा अन्य रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
