स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मा पर्मे लत्रेपिपल कुनाखेत बिचारीडाडा हमालडाडा हुँदै बाड्खोला पुग्ने मोटरबाटो स्तरोन्नति गरिने भएको छ । जसका लागि सर्भेको कार्य अघि बढेको छ ।
बाटो स्तरोन्नतिका पुतलीबजार नगरपालिकाबाट नगद ५० लाख विनियोजन भइसकेको छ भने सर्भे र टेन्डर प्रक्रिया अघि बढेको छ ।
बिहिबार कुनाखेतमा भएको कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले यहाँको स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै बाटो स्तरोन्नतिका लागि आफुले पहल गरेको बताए । उनले आगामी बजेटमा ढडुवा कुनाखेत अन्तर्गत पर्ने मोटरबाटोलाई समेत समेट्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै, सिरानपाटा चौरमा रहेको पौवालाई अझ व्यवस्थापन गर्नका लागि आफुले पहल गर्ने र छिटै सहयोग गर्ने आशय राखे । पुतलीबजार नगरपालिकाले यसअघि कुनाखेतमा निर्मित शिव मन्दिरलाई पनि अघिल्लो वर्ष र यो वर्ष पनि नगद ३ लाख रुपियाँ बजेट विनियोजन गरेर मन्दिर स्तरोन्नति तथा निर्माणमा योगदान दिएको थियो ।
कार्यक्रममा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्मा, टोल संयोजक खगेन्द्र शर्मा लगायतले मन्तव्य राखेका थिए । उपभोक्ता समितिले नै आह्वान गरेको सो कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, वडा न ३ का वडा सदस्यहरु, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि बन्दना लम्साल,नेपाली काङ्ग्रेस ३ का सभापति कमलकान्त उपाध्याय, नेकपाका वडा संयोजक डिल्लीराम शर्मा, स्थानिय उपभोक्ताहरु मोति प्रसाद मरासिनी, भानुभक्त शर्मा, खेमराज शर्मा,चन्द्र शर्मा, बिना शर्मा, नगर तथा वडामा कार्यरत प्राविधिक र अन्य स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
