स्याङ्जाको पुतलीबजारमा प्रथम खुमा अर्याल कप क्रिकेट हुने

स्याङ्जा सदरमुकाम स्थित मालेबगर खेलमैदानमा प्रथम खुमा अर्याल कप २०८२ टि ट्वान्टी क्रिकेट हुने भएको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगपालिकाको समन्वय, जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राधिविक सहकार्य तथा जिल्ला खेलकुद विकास समिति स्याङ्जाको परामर्शमा हुने प्रथम खुमा अर्याल कप २०८२ स्याङ्जा जिल्ला अन्तर पालिका टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिता यहि माघ २ देखि १० गतेसम्म ९ दिन चल्ने बताइएको छ ।

स्याङ्जा जिल्लाभित्र शिक्षा, स्वास्थ्य, रोजगारीमा विशेष कार्यहरु गर्दै आएको फाउन्डेसनले ती संगै खेलकुद क्षेत्रलाई टेवा पुर्याइ समग्र जिल्लाको समग्र खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए । टि ट्वान्टी क्रिकेटको राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला टिम छनौट गर्ने, स्याङ्जा सदरमुकामलाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने लगायतका महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको अध्यक्ष शर्माले बताए ।

Advertisement

प्रतियोगितामा स्याङ्जाका ११ पालिका भरिमा कम्तिमा ९ पालिका सहभागी रहने विश्वास गरिएको र कुल ३ सय जना खेलाडी सहभागी हुने विश्वास गरिएको छ । जसमा २५० खेलाडी जिल्ला भित्रकै र ५० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहभागी हुने विश्वास छ । कप विजेताले नगद २ लाख रुपियाँ सहित महत्वपूर्ण बहुमुल्य रत्न जडित रनिङ शिल्ड हात पार्नेछ भने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगितामा तृतिय र सान्त्वना टिमले क्रमश नगद १ लाख र ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा प्लेयर अफ दि म्याज र बेस्ट प्लेयर पुरस्कारको समेत व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

खुमा अर्याल कपको तयारी तिव्र पारिएको र अन्य जानकारी केही दिनमा पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ । यस खेलको लाइभ प्रसारण चङ्गा स्पोर्ट्स च्यानलबाट हुने समेत जनाइएको छ । जसबाट देश विदेश सबै ठाउँबाट खेल हेर्न सकिनेछ । यसबाट पुतलीबजारका बासिन्दा र सिङ्गो खेलप्रेमी स्याङ्जाली आम समुदाय उत्साहित भएका छन ।

More News last news
Loading...