पोखरा । पोखरामा अंग्रेजी नयाँ वर्ष अवसरमा यसपालि पनि पोखरा सडक महोत्सव हुने भएको छ । रेवान पोखराले आगामी १३ देखि १७ पुससम्म २७ औं संस्करणको पोखरा सडक महोत्सव गर्न लागेको हो ।
बिहीबार पत्रकार सम्मेलनमा रेवान अध्यक्ष विश्वराज पौडेलले यो महोत्सव पोखराको ब्रान्डको रूपमा स्थापित भएको दाबी गरे ।
फेवाताल किनारको साढे ३ किमी सडकका यातायात आवागमन रोकेर संचालन हुने पाँचदिने महोत्सवको मूल उद्देश्य आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन रहेको उनले बताए ।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ हुने महोत्सवमा विभिन्न खानाका परिकार, लाइभ कन्सर्ट, लोपोन्मुख झाँकी, मौलिक भेषभूषा, परम्परागत नृत्य, खेलकुद गतिविधि, टक शो, पोखराको सौन्दर्य झल्काउने वृत्तचित्र प्रदर्शनी, फोटो प्रदर्शनी लगायत मुख्य आकर्षण रहेको महोत्सव संयोजक वसन्त गौतमले पत्रकार सम्मेलनमा बताए । खेलकुदतर्फ फेवातालमा बोट रेस, वेटर रेस, टग अफ बार लगायत हुनेछन् ।
कार्यक्रम संचालन गर्दै रेवान पोखरा महासचिव वीरेन्द्र शेरचनले यो महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा विशेष स्थान ओगटेको बताए ।
रेवान अध्यक्ष पौडेलले पोखरा आफैँमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला संग्रहालय रहेको उल्लेख गर्दे यो महोत्सवले यही पहिचान स्थापित गर्दै पर्यटन र अर्थतन्त्रमा टेवा पुग्ने विश्वास लिइएको बताए । विशेषगरी जाडोयाममा सुस्ताउने पर्यटन व्यवसाय चलायमान बनाउँदै ‘बाह्रै महिना पोखरा’ को सन्देश विश्वभर प्रवाह गरेको बताए ।
महोत्सवले गाउँ गाउँमा उत्पादित कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शन र बिक्रीको अवसर प्रदान गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाएको आयोजकको भनाइ छ । यसका अलावा क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकहरुले नेपालमै बसेर रमाउन सक्ने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा पनि प्रत्यक्ष सहयोग गरेको छ ।
महोत्सव दर्शकको थामिनसक्नु भिड हुने भएकाले सुरक्षा व्यवस्था चुस्त पारिने आयोजकले जनाएको छ । गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा हुने महोत्सवको सहप्रायोजन यती डिस्ट्रिलरी प्रालि, बोटलर्स नेपाल (तराई) लि. र दि नेपाल डिस्ट्रिलरी प्रालि हुन् । बैंकिङ पार्टनर सिद्धार्थ बैंक लिमिटेड तथा प्रवद्र्धकहरुमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा भ्रमण वर्ष–२०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
