मौलिक संस्कृति जगेर्ना गर्न स्याङ्जामा महिला समूहको पञ्चेबाजा प्रतियोगिता हुने

स्याङ्जा । स्याङ्जामा महिलाहरुको पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियनको अन्तिम दिन अर्थात् मंसिर २४ गते महिला अधिकार र आवाजलाई गायन र सो गायनमा पञ्चेबाजाको संगीत मार्फत् बुलन्द पार्न लागिएको हो ।

एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा बयरघारी स्थित खेलमैदानमा हुने प्रतियोगितामा स्याङ्जा जिल्ला भित्रका विभिन्न महिला समूहहरु सहभागि हुन पाउने छन् । नेपाली मौलिक भेषभूषामा नृत्य समेत प्रस्तुत हुने उक्त कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक तथा सर्जक लोकनाथ सापकोटा, राष्ट्रिय लोक दोहोरी गायिका तारा पौडेल, पञ्चेबाजा विज्ञ तथा लोकदोहरी गायिका रविना गुरुङ लगायतले आफ्नो उत्कृष्ट गीत समेत पस्किने भएका छन् ।

Advertisement

कार्यक्रममा लैङ्गिक हिंसा अन्त्यको लागि विभिन्न सचेतनात्मक कार्यक्रम पनि हुने कार्यालयले जनाएको छ । महिलाहरु हरेक क्षेत्रमा सक्षम छन् भन्ने सन्देश दिनको साथै नेपाली परम्परागत संगीत र संस्कृतिको संरक्षण गर्दै महिला हिंसा विरुद्ध टेवा पुगोस् भनी कार्यक्रम आयोजना गरिएको एकिकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए ।

कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सचेतनाका विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको छ । प्रविधिको सदुपयोग गर्दै अनलाइन माध्यबाट “लैङ्गिक हिंसा र यसको अन्त्य” शिर्षकमा जिल्ला कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु बीच कविता प्रतियोगिता, सामाजिक नारी आवाजको दोस्रो अंक प्रकाशन सचेतना भिडियो प्रदर्शन, विद्यार्थीहरुलाई इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग जस्ता विभिन्न १६ वटा कार्यक्रम गर्न कार्यालय प्रमुख पौडेलले बताए ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।

महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

More News last news
Loading...