पुतलीबजार नगरपालिकाको प्राथमिकतामा जनतामुखी कार्यक्रम

स्याङ्जा । गण्डकी प्रदेशको स्याङ्जामा रहेको पुतलीबजार नगरपालिकाले जनतामुखी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । नगरपालिकाले पछिल्ला दिनहरुमा दिनहुँजसो जनतालाई सहजीकरण गर्ने गरी कार्य गरेको हो ।

पालिकाले कात्तिक अन्तिम साता ‘आलुमा आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत नगदेबालीका रूपमा प्रवर्द्धन गर्न अभियान नै चलाएको छ । जसअन्तर्गत पालिकाका १४ वटै वडामा करिब ७१ हजार चार सय किलो आलुको बीउ वितरण गरिएको छ । आलुमा आत्मनिर्भर अभियानका लागि नगरले चालू आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन समेत गरिसकेको छ ।

Advertisement

कृषिमा नगरपालिकालाई समृद्ध बनाउने योजनासहित निःशुल्क पशु स्वास्थ्य शिविर, विभिन्न प्रोत्साहन कार्यक्रम र सहुलियत दरमा थ्रेसर मेसिन वितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । नगरबरपरमा विभिन्न स्थानमा सरसफाई कार्यक्रममा समेत नगरपालिकाले अग्रसरता देखाएको छ । यस अन्तर्गत कात्तिक दोश्रो साता पुतलीबजार नगरपालिका वडा न १ स्याङ्जा मालेबगर स्थित कभर्डहल अगाडि निर्माणाधीन पार्कमा सरसफाई तथा बिरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको थियो । केहि समयअगाडी नगरको प्रमुख पर्यटकीय गन्तब्य स्थल भालुपहाडलाई थप रमणीय कसरी बनाउने भन्ने बिषयमा समेत अवलोकन गरिएको थियो ।

नगरपालिकाको शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै विभिन्न समयमा वडा वडामा स्वास्थ्य शिविर, सडकको स्तरोन्नतीको अवलोकन, अपागंता भएका व्यक्तिहरुका लागि विभिन्न सामाग्री बितरण, निःशुल्क रोजगारमुलक सीप लगायतका कार्यक्रमहरु दिनहुँजसो सञ्चालन गरिदैं आएको नगरप्रमुख तुलसीराम रेग्मीले बताए । मेयरसँग विपन्न परिवार कार्यक्रम अन्तर्गत गत मंसिर २ गते पु.ब.न.पा. ११ मायाटारी निवासी चन्द्र बहादुर सार्कीलाई (नाना, खाना र छाना) सहायता वितरण गरिएको रेग्मीले बताए ।

यस्तै वडा नं १,२ र ३ का जनताहरुलाई बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालित मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम अन्तर्गत कुखुराको चल्ला र दाना वितरण गरिएको थियो । जसबाट २१० वढी व्यक्तिहरु लाभान्वित भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । कृषि उत्पादनको प्रवर्द्धन, आय–आर्जनको अवसर विस्तार तथा स्थानीय किसानहरूको जीविकोपार्जनमा योगदान पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो।

गत कात्तिक ३० मा पु.ब.न.पा. वडा नं ८ को बहाकोटमा सम्पन्न सार्बजनिक सुनुवाई कार्यक्रमले स्थानीयस्तरका जनता र जनप्रतिनिधिबीच छलफल एवं विविध समस्याका बारेमा छलफल सम्पन्न भएको थियो । नगरपालिकाको स्वीकृत बजेट अनुसार बजेटमा राखिएका कार्यक्रमहरुलाई प्राथमिकताका आधारमा जनताका हर समस्याहरुमा नगरपालिका सदैव साथमा रहने गरी आफूहरुले कार्यसम्पादन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानले बताए ।

जनताको घर दैलोमा रहेको स्थानीय सरकारले जनतालाई केन्द्रमा राखेर कार्य गरेपछि त्यस क्षेत्रका जनताहरु समेत स्थानीय सरकारसँग खुसी देखिएका छन् ।

More News last news
Loading...