नीलम फगामी/दीया थापा
पोखरा । पोखरा लेडी जेसीजले विभिन्न कार्यक्रम गरी यस वर्ष पनि जेसीज सप्ताह मनाउने भएको छ । बिहीबार पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष अनिता थापा खड्काले यही १० देखि १६ जेठसम्म जेसीज सप्ताह मनाइने जानकारी दिइन्।
यस वर्ष ‘समाज र सामाजिक रूपान्तरणमा युवा अभियान’ भन्ने मूल उद्घोषका साथ दिगो विकासका लक्ष्यलाई सम्बोधन गर्दै महिला, विद्यार्थी, ज्येष्ठ नागरिक, एकल महिला, कृषकहरूलाई लाभान्वित गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिने उनले बताइन् ।
पहिलो दिन उद्घाटन समारोह तथा प्रशिक्षण कार्यक्रम हुनेछ । छात्राहरु लक्षित गर्दै नदीपुरको कन्या क्याम्पसमा उक्त कार्यक्रम हुनेछ । कार्यक्रम संयोजक इसा आले (सिर्जना) लाई तोकिएको छ ।
११ गते कौसीखेती तथा फोहोर व्यवस्थापन तालिम साथै मल वितरण कार्यक्रम हुनेछ । वातावरण संरक्षणलाई लक्षित गर्दै पोखरा वडा १० कार्यालयमा सो कार्यक्रम हुने संयोजक सरिता भुजेलले बताइन् ।
तेस्रो दिन पालिकास्तरीय बृहत् वक्तृत्वकला हुनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा हुने सो कार्यक्रमको संयोजक रचना अधिकारी हुन् । चौथो दिन आधारभूत कानुनी सचेतना तालिम हुनेछ । एकल महिलालाई लक्षित गरी हुने कार्यक्रम नदीपुरमा हुनेछ । जसको संयोजक रेजिना कटुवाल हुन् ।
पाँचौ दिन ज्येष्ठ नागरिकसँग जेसीज युवा कार्यक्रम हुनेछ । पोखरा २०, भलाममा हुने कार्यक्रमको संयोजक मेलिना गुरुङ हुन् । छैटौं दिन ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर हुनेछ । पोखरा २२, पुम्दीमा हुने कार्यक्रमको संयोजक वीनिता केसी छन् ।
सप्ताहको अन्तिम दिन १५ जेठमा पोखराको केदारेश्वर मन्दिरका बटुकहरुलाई खाना तथा खाद्यान्न वितरण कार्यक्रम रहेको छ । शुभद्रा बराल उक्त कार्यक्रमको संयोजक हुन् । समापनकै दिन रोजम्यारी किचन, लेकसाइडमा समापन सत्र हुने संस्थाकी कार्यकारिणी उपाध्यक्ष एवं मूल संयोजक नन्दकुमारी ढुंगानाले जानकारी दिइन् ।
सन् १९८९ मा १८ देखि ४० वर्ष उमेर समूहका क्रियाशील र कर्मठ युवा नारीहरूको सशक्त शाखाको रूपमा पोखरा लेडी जेसीज स्थापना भएको हो । जेसीजले आफ्ना सदस्यको व्यक्तित्व एवं नेतृत्व विकास साथसाथै समाजमा पनि केही गरौं भन्ने उद्देश्य ४ कार्यक्षेत्रमध्ये सामुदायिक कार्य क्षेत्रलाई पनि आफ्नो कार्ययोजनामा समेटेको छ । सामुदायिक विकास क्षेत्रमा पर्ने जेसीज सप्ताहलाई जेसीजको एक महत्वपूर्ण चाडको रुपमा मनाउने गरिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
