काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजा निकटस्थहरुले खण्डन गरेका छन्। पूर्वराजाकै योजनामा राजावादीहरुले जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेकै बीच पूर्वराजालाई सरकारले नजरबन्द गरेको हल्ला फैलिएको हो ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजालाई निर्मल निवासमै नगरबन्द गरिएको भन्ने खबरको कुनै सत्यता नरहेको बताए । ‘….ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहान्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति भने ।
यस्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि यस्तो खबरको कुनै सत्यता नरहेको र यसबारे सरकारले नै खण्डन गर्नुपर्ने बताए । उनले फेसबुकमै भनेका छन्, ‘..ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको भन्ने केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा कुनै सत्यता छैन । आन्दोलन विरोधीहरुले फैलाएको सुनियोजित भ्रममा कोही नपरौं।सरकारका जिम्मेवार निकायले तुरुन्त खण्डन गरोस् ।’ सरकारी स्रोतले पनि पूर्वराजालाई नजरबन्द गरिएको विषयमा अहिलेसम्म कुनै पुष्टि गरेको छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
