पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको भित्तो पर्यटकीय स्थलहरुको चित्रहरुले रंगिएको छ । पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट संघको सहकार्यमा उक्त भित्तामा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रमिक दिवसको अवसरमा बिहीबार ती चित्रहरु अनावरण गरे। पर्यटन राजधानी पोखराको सौन्दर्यीकरणसहित पर्यटन प्रवद्र्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने प्रमुख आचार्यले बताए।
पोखराबाट देखिने हिमालय शृंखला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठमन्दिरहरू लगायत प्रतिबिम्बहरू बनाइएको छ। चित्र कोरेका कलाकाहरु रमेशकुमार राई, शिवबहादुर अधिकारी, मनोजकुमार विक, बलबहादुर राई, शिव थापा, लाल कार्की, मोहमुद खान, रामकुमार बतास, राज लामा, शिव सेर्पाली, युवराज बस्ताकोटी, राजु नेपाली र तेजबहादुर शाहीलाई कार्यक्रममा सम्मान गरिएको थियो।
भित्ते चित्र कोर्ने सामग्री किन्ने खर्च स्वरुप कलाकारहरुलाई ५ लाख रुपैयाँ उपलब्ध गराइएको र अरु आवश्यक योगदान कलाकारहरुले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
