काठमाडौँ । आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । पछिल्लाे काराेबार भएको दिन अस्ति बुधवार सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज एकैदिन सुनको भाउ तोलामा चार हजार रुपैयाँले बढेको हो । यसअघि गएको फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो । यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ रहेको थियो ।
सुनको कारोबार भएको यस हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार हजार दुई सय रुपैयाँले बढी हो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाकाे दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
