नेपाल नागरिकता विधेयक, अब कस्ता व्यक्तिले कसरी लिन सक्छन् नागरिकता ?

काठमाडौँ । प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत गरेको छ । आइतबार गणपूरक सङ्ख्या नपुगेर निर्णयार्थ पेसका क्रममा रोकिएको विधेयक सोमबारको बैठकले संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत गरेको हो । विधेयकमा अब सांसदहरूले संशोधन दर्ताको समय पाउने छन् । प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार संशोधन दर्ताका लागि सांसदहरूले ७२ घण्टाको समय पाउने छन् ।

नागरिकता प्रदान गर्दा देखिएका व्यावहारिक समस्या सम्बोधन तथा सर्वोच्चको फैसला अनुकूल बनाउन भन्दै सरकारले विधेयक प्रस्तुत गरेको थियो । माघ १५ गते सरकारले विधेयक प्रतिनिधि सभामा दर्ता गरेको थियो । विधेयकले बाबुको पहिचान नखुलेको एकल आमाका सन्तानलाई नागरिकता दिने प्रस्ताव गरेको छ । यस्तै वैदेशिक रोजगारका सिलसिलामा विदेशमा गएका नेपाल नागरिक आमाबाट विदेशमै जन्मिएका सन्तानले पनि नागरिकता पाउने बाटो विधेयकले खोलेको छ ।

Advertisement

जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता प्रदान हुँदै आएकोमा बाबु वा आमामध्ये कुनै एकले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्तिअघि मृत्यु भएमा पनि नागरिकता दिने प्रस्ताव विधेयकले गरेको छ । यस्तो हकमा आमा सम्पर्कविहीन रहेका व्यक्तिका सन्तानलाई पनि नागरिकताको हक हुने छ ।

जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम भएको तर बाबु सम्पर्कमा नरहेको भनी स्वघोषणा गरेमा आमाकै नामबाट वंशजको नागरिकता दिने व्यवस्था विधेयकले गरेको छ । कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको निवेदन दिएमा सोही अनुसार नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकले गरेको छ । यस्तै १६ वर्ष उमेर पूरा नभएका बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्नेसहितका विषयलाई पनि विधेयकले समेटेको छ ।

More News last news
Loading...