विश्व क्यान्सर दिवस आजः पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौँ । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभर नै यो रोग फैलिने र उपचार जटिल हुने जोखिम हुन्छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने र प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो । क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाहीको भनाइ छ ।

Advertisement

आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ।

विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झण्डै १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले देशभर तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एपीभी) खोप दिन लागिएको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो । त्यसैगरी अभियानका लागि ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

More News last news
Loading...