१९ वर्षमै सुब्बा बनेकी अनिताको मुख्यसचिव बन्ने लक्ष्य, दिइन् यस्ता टिप्स्

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ की अनिता खवासले १९ वर्षको उमेरमै लोक सेवा आयोगको नायब सुब्बा पदको परीक्षा पास गर्दै सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा लेखापाल पदमा सिफारिस भएकी छिन्।

उनले हालै रुपन्देहीको सैनामैनास्थित प्रभात इङ्लिस बोर्डिङ स्कुलबाट कक्षा १२ पास गरेकी हुन् भने अहिले बुटवलको अक्सफोर्ड कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्। सानै उमेरमा सरकारी स्थायी जागिरको लागि सिफारिस भएपछि उनको परिवारमा खुसीको माहोल छ।

Advertisement

धुर्कोट गाउँपालिका-६ का अध्यक्ष कृष्ण नेपालीका अनुसार अनिता युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उनले गुल्मी जिल्लालाई लोक सेवामार्फत चिनाउने धेरै युवा देखा परेका कुरा उल्लेख गर्दै शिक्षामा थप पहल गर्नुपर्ने बताए।

अनिताले आफ्नो लक्ष्य मुख्यसचिव बन्ने रहेको बताउँदै मेहनत, धैर्यता, र लगनशीलताले नै सफलता सम्भव हुने उल्लेख गरिन्।

लोक सेवा तयारीका लागि अनिताका टिप्स:

१. लोकसेवा तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यता कायम राख्नुपर्छ।
२. पढाइको लागि स्पष्ट ढाँचा निर्माण गरी अध्ययन गर्नुपर्छ।
३. आफ्ना कमजोरीहरू पत्ता लगाई ती क्षेत्रमा थप मिहिनेत गर्नुपर्छ।
४. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ।
५. सामान्य ज्ञान (जीके) घोक्नुपर्ने विषय भएकाले यसमा विशेष ध्यान दिनुपर्छ।
६. अध्ययन गर्दा स्पष्ट धारणा बनाउँदै दिमागमा विषयको चित्र उतार्ने प्रयास गर्नुपर्छ।
७. पत्रपत्रिका र समसामयिक विचारहरूको नियमित अध्ययनले ज्ञान अद्यावधिक राख्न मद्दत गर्दछ।
८. “आइक्यु”मा ध्यान दिएर ट्रिक लगाउन सकिन्छ।

“युवाले व्यवस्थालाई सुधार्न सक्छन्,” भन्दै अनिताले सरकारी सेवामा लाग्ने युवाहरूलाई प्रेरणा दिएकी छिन्।

More News last news
Loading...