प्राविधिक परीक्षणबिनै ५०० बढी विकास आयोजना सञ्चालन, अर्बौं डुब्ने संकेत

काठमाडौं । सरकारका विभिन्न पाँचवटा विकासे मन्त्रालयले प्राविधिक परीक्षणविना नै अर्बौंका ५ सय बढी विकास आयोजनाहरू सञ्चालन गरिरहेका छन् । प्राविधिक परीक्षण हुन नसक्दा ती आयोजनाको गुणस्तर तथा दिगोपनाका बारेमा प्रश्न सिर्जना भएको छ। अर्बौं मूल्यका आयोजनाहरूको प्राविधिक परीक्षणका लागि सरकारी स्तरबाट संवेदनशीलता र चासो नदेखाउनुलाई शंकाको रूपमा हेरिएको छ।

सरकारका सबै विकास आयोजनाहरूको प्राविधिक परीक्षण गर्ने कानुनी जिम्मेवारी पाएको राष्ट्रिय सर्तकता केन्द्रले बजेट र जनशक्तिको अभावमा ती आयोजनाहरूको परीक्षण गर्न नसकेपछि आयोजनाहरू त्यसै हचुवामा सञ्चालन भइरहेका हुन् । जसका कारण अर्बौं लागतका ती आयोजनाहरू जोखिममा परेका छन् ।

Advertisement

राष्ट्रिय सर्तकता केन्द्रका अनुसार पाँचवटा विकासे मन्त्रालयद्वारा हाल कम्तीमा पनि ५ सय २ वटा विकास आयोजनाहरू सञ्चालन भइरहेकोमा ती कुनैको पनि प्राविधिक परीक्षण गरिएको छैन। आजको नेपाल समाचारपत्र लेख्छ प्राविधिक परीक्षण नहुँदा ती आयोजना गुणस्तरयुक्त बन्न सकेका छैनन् भने निर्धारित समयमा पनि सम्पन्न हुन सकेका छैनन्। कैयौं आयोजना १०–१५ वर्षदेखि सम्पन्न हुन नसकेको र रुग्ण अवस्थामा रहेको पनि केन्द्रले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी सरकारले राष्ट्रिय सतर्कता केन्द्र नियमावली २०६५ बमोजिम सरकारका सबै विकास आयोजनाको प्राविधिक परीक्षण गर्ने जिम्मेवारी सतर्कता केन्द्रलाई दिइएको छ । सरकारले केन्द्रलाई त्यति महत्वपूर्ण जिम्मेवारी दिएको भए पनि परीक्षण गर्न आवश्यक पर्ने बजेट र जनशक्तिको उचित व्यवस्था गर्न नसक्दा ती आयोजनाको परीक्षण हुन नसकेको हो ।

More News last news
Loading...