काठमाडौं । देशका अधिकांश विश्वविद्यालयमा छात्राको संख्या ह्वात्तै बढेको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इमिस) मा छात्राको संख्या ह्वात्तै बढेको देखाएको छ।
विश्वविद्यालयगत रुपमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत ४ लाख ९१ हजार २ सय ९९ मध्ये ५८ दशमलव ४ प्रतिशत छात्रा रहेका छन्। छात्रको संख्या ४२ प्रतिशत मात्र छ। त्रिविमा स्नातक तहमा छात्राको संख्या बढी छ । सो तहमा ५७ दशमलव ६१ प्रतिशत अध्ययनरत छन्।
प्रतिवेदनमा प्राविधिक र गैरप्राविधिक विषयमा गरी छात्राको संख्या ३ लाख ५८ हजार १ सय ४० जना छन् भने छात्रको संख्या २ लाख ७४ हजार ९ सय १३ छ। तीमध्ये व्यवस्थापन संकायमा २ लाख ८२ हजार ८ सय ३६ विद्यार्थी छन् । यो संकायमा छात्राको संख्या १ लाख ६२ हजार ७ सय ३३ उल्लेख छ । शिक्षा संकायमा १ लाख ३९ हजार ४ सय १७ छन् । सो संकायमा छात्राको संख्या १ लाख २ सय ३० छ।
देशभरका विश्वविद्यालयअन्तर्गतका शिक्षण संस्थामा ६ लाख ३३ हजार ५३ विद्यार्थी अध्ययनरत छन्। यो तथ्याङ्क चालु शैक्षिक सत्रको हो । तीमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७४ दशमलव ८, नेसनल एकेडेमी अफ मेडिकल साईन्स (न्याम्स) मा ७४ दशमलव ३ प्रतिशत छात्रा अध्ययनरत छन्। सुदूरपश्चिम विश्वविद्यालयमा ६६ दशमलव ३ प्रतिशत छात्रा अध्ययनरत छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
