काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आज दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए । उनका श्रीमति, दुई छोरा र एक छोरी छन् । ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने छ ।
उनको निधनप्रति दुख व्यक्त गर्दै राष्टपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधिस प्रकाशमान सिंह राउत, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतले श्रद्धाजली व्यक्त गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
