स्याङ्जा, कात्तिक १४ : स्याङ्जाको गल्याङ नगरपालिकाले सञ्चालन गरेको कृषकसँग कृषि प्राविधिक कार्यक्रमबाट पाँच हजार बढी कृषक परिवार लाभान्वित भएका छन् । नगरपालिकाको ग्रामिण क्षेत्रका किसानहरुलाई लक्षित गरेर गरिएको कार्यक्रमबाट पाँच हजार एक सय १७ कृषक परिवार लाभान्दित भएका हुन् ।
गल्याङ नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका वडाहरुमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी भएर कृषकहरुले लाभ लिएका छन् । एउटा वडाको तीन देखि सात ठाउँसम्म गरी ६८ ठाउँमा कार्यक्रम सम्पन्न भएको गल्याङ नगरपालिकाले जनाएको छ ।
गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले गएको वर्ष जस्तै यस वर्ष पनि कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको बताए । उनले गएको वर्षको कार्यक्रममा तल्लो वर्गमा रहेका कृषकहरुसम्म फाइदा पुगेको पाइएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको स्पष्ट पारे ।
उनले यो कार्यक्रमबाट गुजारा चलाइरहेका साना किसानहरुका लागि निकै लाभदायी हुने बताए । नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले यो कार्यक्रमबाट नगरको सेवाबारे टोलसम्म जानकारी दिन सहयोग पुगेको बताईन् ।
गल्याङ नगरपालिका कृषि शाखा प्रमुख भीम क्षेत्रीले किसानका टोलसम्म पुग्दा साना किसानका समस्याहरु प्रत्यक्ष हेर्न र समाधान गर्न सहयोग पुगेको बताए । नगरप्रमुखका सचिवालय प्रमुख ज्ञानेन्द्र पाठकले कृषकसँग कृषि प्राविधिक कार्यक्रममा किसानहरुलाई कृषि र पशु सम्बन्धी जानकारी समेटिएको हाते पुस्तिका र उन्नत विउ विजन वितरण पनि गरिएको बताए ।
कार्यक्रमहरुमा कृषकहरुसँग अन्तरक्रिया, छलफल गरि किसानहरुका समस्या, गुनासाहरुको समाधान पनि गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
