काठमाडौँ । अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो। जितसँगै सिरिजमा नेपालले २-० को अग्रता लिएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो। रोमाञ्चक खेलको निर्धारित २० ओभरमा दुबै टोलीले एक ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो ।
सोमपाल कामी चम्किएपछि नेपालले सहज लक्ष्य पाएको थियो । सोमपालले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राख्नुभयो । चौथो बलमा उहाँलले आरोन जोनेसको विकेट लिएपछि नेपालले जितका लागि तीन रनको सहज लक्ष्य पाएको थियो । जसमा कप्तान रोहित पौडेलले दुई र कुशल भुर्तेलले एक रन जोड्दै नेपाललाई जिताउनुभयो ।
यसअघि जितका लागि एक सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७० रन जोड्दै बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका लागि एन्ड्रियस गोसले अविजित ६२ रन बनाउनुभयो । उहाँले ४३ बलमा तीन चौका र चार छक्काको सहयागमा उक्त रन बनाउनुभएको हो ।
सईतेजा मुक्कामल्लाले ४७, मिलिन्ड कुमारले १५ र सायन जहानगिरले १४ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाउनुभयो । उहाँले सात चौका र ६ छक्का हान्नुभएको थियो । यस्तै ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउनुभयो । गुलशन झाले १२ बलमा १९ र कप्तान रोहित पौडेलले १४ बलमा १८ रन बनाउनुभयो । बलिङमा अमेरिकाका नोस्तुश केन्जिके र जसदीप सिंहले दुई दुई विकेट लिनुभयो । सौरभ नेत्राभाल्करले एक विकेट झार्नुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
