अर्जुन दाहालकाे कविता संग्रह “हिड्न बाँकी बाटाहरु” सार्बजनिक

काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह “हिड्न बाँकी बाटाहरु” सार्बजनिक गरेका छन् । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहाललको कविता संग्रह हिड्न बाँकी बाटोहरूको बिमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् ।

कार्यक्रममा बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक सोच भेटिने दाबी गरे । उनले भने,”उहाँका कवितामा व्यङ्ग्य, विद्रोह र आलोचना जे गर्दा पनि सकारात्मक सोच भेटिन्छ, यो कविताको राम्रो पक्ष हो ।” दाहालले कविको रूपमा आफ्नो जन्म घोषणा गरेको भन्दै यो पहिचानलाई सदैव बचाइराख्न शुभकामना समेत दिए।

Advertisement

कार्यक्रममा पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले कविले हृदयबाट नै कविता लेख्नुभएको भन्दै आफू लेखनको प्रगतीको पक्षधर भएको भन्दै शुभकामना दिए । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कविताको शीर्षकले आशावादी बोध गराउने भएपनि कवितामा हिडिसकेका बाटाहरू आएको टिप्पणी गरिन् । यस्तै कवितामा प्रयोग भएको सरल भाषाले सामान्य पाठकले पनि सजिलै बुझ्न सक्ने बताइन् ।

कार्यक्रममा बरिष्ठ कवि एवं साहित्यकार डा. नवराज लम्सालले दाहालले जीवनको सार कवितामा उतार्नुभएको र नेपाली साहित्य जगतमा नयाँ कविको जन्म भएको बताए । कार्यक्रममा कवि दाहालले आफूले आफ्नो जिन्दगी भोगाइ र अब हिड्न बाँकी जिन्दगीका बाटोलाई समेटेर कविता संग्रह सार्बजनिक गरेको बताए । उनले भने, “मैले भोगेको देखेको र मनका पीडालाई कवितामा पोखेको छु ।” कविता लेख्नका लागि हौसला प्रदान गर्ने र सल्लाह दिने वरिष्ठ कवि लम्साल आफ्नो प्रेरणाको श्रोत भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायक शिव परियार, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, डा. राधाकृष्ण ढुगाना लगायतले कविताको सफलताको शुभकामना व्यक्त गरेका थिए । अमर प्रकाशन गृहले बजारमा ल्याएको कवितामा कविले आजको युवाले भोगेको पीडालाई कवितामा उतार्ने प्रयास गरेका छन् । हार्ड कभर र सफ्ट कभरमा उपलब्ध कविताको मूल्य क्रमश: ५०० र २५० तोकिएको छ ।

More News last news
Loading...