फिर्ता भयो ‘फेसबुकले हटाएको’ बालेनको स्टाटस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाटस फिर्ता भएको छ । बालेनले आफूहरूको अनुरोध गरेपछि फेसबुकले पोस्ट फिर्ता गरेको बताएका छन्। आफ्नो स्टाटस फेसबुकले फिर्ता गरेको प्रमाणस्वरूप बालेनले कमेन्ट बक्समा एउटा स्क्रिनसट राखेका छन् । जहाँ फेसबुकले आफूहरूले पोस्टलाई फेरि रिभ्यू गरेको र कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको नदेखिएको बताएको छ।

गत मंगलबार (भदौ १८ गते) अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए। उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका थिए । त्यसपछि बालेनका समर्थकहरूले प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका थिए।

Advertisement

गत आइतबार (भदौ १६ गते) मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए। उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए। त्यसपछि एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए। बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो।

मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो। त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए।

More News last news
Loading...