काठमाडौँ । सर्वाधिक पुरस्कार राशी भएका दुई नेपाली अन्तर्राष्टिय रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ। एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको एक खुल्ला सांगीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन्।
जसअनुसार विश्वका विभिन्न मुलुकहरुमा स्थलगत अडिसनहरु तय गरिएका छन् र दोस्रो संस्करणको अडिसनको शुरुवात भने सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने छ। नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शोहरु आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले सो कार्यक्रममा जानकारी दिए।
भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु काठमाडौं ल्याइने छ। दुबै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ। दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
