५ हजार उडे कोरिया

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२४ को पाँच हजारभन्दा बढी नेपाली युवा कोरिया प्रवेश गरेका छन् । यो संख्या कोरिया प्रवेश गर्ने औषत नेपालीको संख्याभन्दा बढी हो । कोरियाले पछिल्लो समय नेपाली युवालाई प्राथमिकतामा राखेर छनोट गरिरहेका कारण ९ महिनामा ५ हजार युवाले कोरिया रोजगारीमा प्रवेश पाएका हुन् ।

सेवासुविधाका दृष्टिकोणले कोरिया आकर्षक श्रम गन्तव्य रहँदै आएकाले त्यहाँ जाने नेपालीको संख्याले रेमिटेन्स वृद्धिमा ठूलो भूमिका खेल्ने गरेको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले अन्य देशको तुलनामा नेपालले सबैभन्दा बढी कामदार कोरिया पठाउँदै आएको बताइन् । एचआरडी कोरियाले केही दिनयता त्यहाँ जाने युवाको उडान तालिकासमेत धमाधम पठाइरहेका कारण जाने संख्या अझ बढ्ने अनुमान छ । यो वर्षको हालसम्म नेपालबाट ६६४ महिलासहित ५ हजार ८३ युवा कोरिया प्रवेश गरिसकेको शाखाले जनाएको छ ।

Advertisement

‘अन्य देशको तुलनामा नेपालबाट जाने कामदार संख्या बढी छ । गत वर्ष नेपाल अन्य १६ देशको तुलनामा सबैभन्दा बढी कामदार पठाउने पहिलो देश बन्न सफल भएको थियो,’ निर्देशक कँडेलले भनिन् । विगतमा नेपालले ‘बेस्ट प्राक्टिस आउटस्टान्डिङ अवार्ड’ प्राप्त गरेका कारण कोरियाले श्रमिक स्रोत देश नेपाललाई सकारात्मक रुपमा हेर्दै आएको छ । अहिले परीक्षा आवेदकको संख्या बढी भएको तर कोरियाबाट माग कम भएका कारण छनोट कम भए पनि अन्य १६ देशको तुलनामा भने बढी नै छ ।

आम्दानीका हिसाबले अधिकांश नेपाली युवाको आकर्षणको गन्तव्य मुलुक कोरिया भएको छ । नेपाली युवाहरुको लगनशिलता, कामप्रतिको लगाव, अनुशासन र कोरियाप्रतिको प्रेमभावका कारण पनि पछिल्लो समय कोरियाले धेरै नेपाली माग गर्ने गरेको देखिन्छ । यसैगरी कोरियाको रोजगारदाताले पनि नेपाली कामदारलाई बढी विश्वास गर्ने गरेका कारण नेपाली युवाको माग धेरै हुने गरेको छ।

More News last news
Loading...