काठमाडौं । पछिल्लो एक महिनामा शेयर बजारमा आधा दर्जन रेकर्ड कायम भएका छन् । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झण्डै ३० अर्ब रुपियाँको कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपियाँको शेयर कारोबार भएको छ। यसअघि गत सोमबार २७ अर्ब २४ करोडको कारोबार हुँदै रेकर्ड कायम भएको थियो।
नेप्सेमा २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोडको उच्च कारोबारको रेकर्डलाई यस वर्ष साउन १६ गते २१ अर्ब ९१ करोड रुपियाँको कारोबार हुँदै तोडिएको थियो । तत्पश्चात् साउन २२ गते २३ अर्ब ७२ करोड र साउन २७ गते २५ अर्ब ७७ करोडको कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो । बिहीबार नेप्से ४३ दशमलव शून्य ५ अंकले वृद्धि हुँदै ३ हजारको बिन्दुलाई पार गरेको छ ।
यो करिब ३ वर्ष अगाडिकै स्थिति हो । यसअघि २०७८ भदौ १३ गते नेप्से परिसूचक ३०४५ बिन्दुमा रहेको थियो । बिहीबार भएको शेयर कारोबार संख्या पनि उच्च हो । यस दिन ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ । बैंकिङ समूहमा भएको उच्च वृद्धिसँगै समग्र नेप्से परिसूचक पनि वृद्धि भएको भएको छ । यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्किट लेवलमा कारोबार भएको छ ।
भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लिवर्टी इनर्जीको पनि शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बिहीबार कारोबार भएका ३३४ वटा कम्पनीमध्ये १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै १३७ वटा कम्पनीको घट्नका साथै एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपियाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
