काठमाडौँ । नेपालको स्याटेलाइट (उपग्रह) प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ। नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको स्वदेशी उपग्रह मुनालको प्रक्षेपणमा भारतले सघाउने भएको हो । नेपालको मुनाल उपग्रह प्रक्षेपणका लागि अनुदान सहयोगस्वरुप भारतको विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेड (एनएसआईएल) बीच शनिवार सम्झौता भएको छ।
सम्झौता पत्रमा मन्त्रालयका अधिकारी अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) का संस्थापक डा. आभास मास्केको पनि उपस्थिति रहेको थियो ।
गत जनवरी ४ मा भएको भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा मुनाल स्याटेलाइटको प्रक्षेपणका लागि एनएसआईएल र नास्टबीच सम्झौता भएको थियो । मुनाल स्याटेलाइट नेपालमा नास्टको सहयोगमा विकसित स्वदेशी उपग्रह हो ।
नेपाली अन्तरिक्ष स्टार्टअप एपीएनले यस स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको छ । यो उपग्रह एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेइकलमा छिट्टै प्रक्षेपण हुने अपेक्षा छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
