‘नेपाल पूर्णरूपमा विद्युतीकरण भएको घोषणा’ : कुलमान घिसिङ

काठमाडौँ । देशलाई छिट्टै पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्था बनेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा पछिल्लो पटक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा आज पत्रकार सम्मेलन गरी उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको छ । मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । यसअघि पनि उहाँ एक कार्यकाल कार्यकारी निर्देशक हुनुभएकाे थियाे।

आठ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । त्यसमा तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत पुगेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको प्रगति विवरणमा उल्लेख छ । अब छिट्टै पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्था बनेको उहाँको भनाइ छ।

Advertisement

साथै नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात यसै वर्ष शुरू हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विश्वास छ। अहिले आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बङ्गलादेशका निकायबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ। तर अहिले बङ्गलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष बिजुली निर्यात शुरू हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वास व्यक्त गर्नुभयो।

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । त्यस्तै आठ वर्षअघि प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको र त्यसयता चुहावट नियन्त्रणका लागि चालिएका कदमबाट १२ दशमलव ७३ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो। चुहावट नियन्त्रणबाट प्राधिकरणले यस अवधिमा प्रतिवर्ष झन्डै १२ अर्ब रुपैयाँ थप आम्दानी गरेको छ।

More News last news
Loading...