कांग्रेसमा जन्मियो गण्डकी ग्याङ, देउवा र शेखर दुबैलाई बन्यो टाउको दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउँदा गण्डकी प्रदेशलाई छुटाएको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरु एकजुट भएका छन् । सोमबार प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए । अ‍ोली सरकारमा कांग्रेसका तर्फबाट १० जना मन्त्री सहभागी छन् । सबै गुटलाई भाग पुर्याएर १० जनालाई सरकारमा पठाउँदा सिंगो गण्डकी प्रदेशबाट कोही पनि मन्त्रीमा नपरेपछि गण्डकीबाट निर्वाचित कांग्रेस सांसदहरु प्रतिवादका लागि एकजुट बनेका छन्।

सोमबार सरकार विस्तार भएलगत्तै गण्डकीबाट निर्वाचित सबै प्रतिनिधि सभाका सांसदहरु आकस्मिक रुपमा काठमाडौंमा भेला भएका थिए । गण्डकीबाट प्रतिनिधिसभामा धनराज गुरुङ, जीवन परियार, राजेन्द्र बजगाईँ, राजु थापा, योगेश गौचन, टेकबहादुर गुरुङ, शंकर भण्डारी र खमवीर गुर्जुवा छन् ।

Advertisement

१० जना मन्त्री सरकारमा पठाउँदा गण्डकीबाट सहमहामन्त्रीसमेत रहेका जीवन परियार पर्ने निश्चित रहेको चर्चा हुने गरेको थियो । पार्टीको संस्थापनइतर समूहले उनको नाम सुरुमानै पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको समाचारसमेत सार्वजनिक भएको थियो । तर, अन्तिममा उनी मन्त्री बन्न छुटे । परियार मन्त्रीमा छुट्दा अ‍ोली सरकार दलितवीहिन बनेको छ । मन्त्रिपरिषद्मा दलितलाई समावेश नगरेको भन्दै विभिन्न प्रश्नहरु पनि उठिरहेका छन् ।

कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा परियारको नाम काटिएजस्तै गोरखाबाट निर्वाचित सांसद बजगाईले पनि मन्त्रीका लागि दाबी गरेका थिए । नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने आवाज पार्टीमा उठाउनेमध्येका एक सांसद रहेका बजगाई पर्यटनमन्त्री हुने हल्ला थियो । तर, उनको पनि नाम काटिन पुग्यो । गण्डकीका आकांक्षीका नाम काट्दा पार्टीले सुदूरपश्चिम प्रदेशबाट भने ३ जनालाई सरकारमा पठाएको छ । सुदूरबाट प्रतिनिधित्व गर्ने डा आरजु राणा, रमेश लेखक र बद्री पाण्डे गरि ३ जनाले ओली सरकारमा मौका पाउँदा सिंगो गण्डकी उपेक्षामा परेको छ ।

गण्डकीबाट निर्वाचित भएका सांसदहरु विभिन्न समयमा राष्ट्रपतिदेखि सभामुखसम्म बनेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको इतिहासलाई नेतृत्वले कुल्चिएको भन्दै प्रदेशबाट निर्वाचित सांसदहरुले आफ्नो ग्याङ खडा गरेका हुन् । मन्त्रीको विषयमा छलफल गर्न सबै सांसद एकजुट बनेपछि गण्डकी कांग्रेसमा नयाँ ग्याङ जन्मिएको चर्चा हुन थालेको छ ।

अहिले नेतृत्वले पाखा लगाएपछि एकजुट बनेका उनीहरु पार्टीको संस्थान र इतर दुवै समूहका सांसद हुन । उपसभापतिसमेत रहेका गुरुङलगायतका केही सांसदले संस्थापन इतर समूहको नेतृत्व गरिरहँदा अन्य सांसद संस्थापन पक्षमै छन् ।

मन्त्री छनोट गर्दा सभापति देउवा र संस्थापनइतर दुवै समूहले आफूहरुलाई उपेक्षामा राखेको भन्दै एकजुट बनेका उनीहरुले शसक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । यो समूह कांग्रेसको आगामी १५औं महाधिवेशनसम्म कायम रहेमा संस्थापन र इतर दुवै समूहलाई गाह्वोपर्ने चर्चा हुने गरेको छ । यस समूहले ग्याङ बनाएपछि सभापति देउवा र संस्थापन इतरसमूहका नेता डा शेखर कोइरालासमेत अप्ठ्यारोमा परेका छन् । यस गुटले निरन्तरता पाईरहेमा देउवा र कोइराला दुवैलाई टाउको दुखाई बन्ने देखिन्छ ।

More News last news
Loading...