काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गतेनै विश्वासको मत लिने भएका छन् ।असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते सदनमा देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनले विश्वासको मत माग्ने तयारी गरेको स्रोतले जनाएको छ ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको स्रोतको भनाइ छ । आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेका हुन् ।
६ गते विश्वासको मत माग्नेबारे छलफल भए पनि टुंगोमा पुगिनसकेको स्रोतले बतायो । प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ ।
संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिटसमेत परेको छ । सो रिट ६ गतेनै पेशीमा परेको छ । ओलीले यो मुद्दालाई समेत किनारा लगाउँदै सहज ढंगले अघि बढ्न तुरुन्तै विश्वासको मत लिन चाहेको एमाले स्रोतले बताएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
