सबैखाले जग्गाकाे सीमाङ्कनसहित नक्साङ्कनकाे अभिलेख अद्यावधिक गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरूको सीमाङ्कनसहित नक्साङ्कनकाे अभिलेखीकरण अद्यावधिक गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरूको सीमाङ्कनसहितको नक्साङ्कनकाे अभिलेखीकरण अद्यावधिक गर्न/गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो।

यसरी अद्यावधिक गर्दा सूचना प्रविधिको प्रयोग गर्न, तथ्य/तथ्याङ्कमा शुद्धता कायम गर्न र समितिले उपलब्ध गराएको ढाँचामा उल्लेखित विवरण समितिलाई उपलब्ध गराउन पनि भनिएको छ। त्यसैगरी सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरि पुनः नापी गरी व्यवस्थापन गराउन पनि समितिको निर्देशन छ । समितिले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखलाई संरक्षण गर्न पनि सरकारलाई भनेको छ।

Advertisement

त्यसैगरी जग्गाको अभिलेखीकरण, प्रयोग र संरक्षणमा तीन वटै तह र सम्बद्ध निकायबीच नीतिगत तथा समन्वयगत स्पष्टता कायम गराउन समितिले निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताउनुभयो। त्यसैगरी समितिले सार्वजनिक तथा सरकारी जमिनलाई कुनै पनि कारण दुरुपयोग हुनबाट रोक्न, अतिक्रमण, कब्जा र सार्वजनिक सम्पत्तिकाे दुरुपयोग गर्नेलाई कारबाही गर्न पनि निर्देश गरेको छ।

सभापति पोखरेलले भूमिसँग छरिएर रहेका कानुनहरूलाई एकीकृत गरी सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कडा सजायको व्यवस्था गर्न, जग्गासम्बन्धी सम्पूर्ण विवरणको अभिलेख एकीकृत रूपमा राख्ने प्रणालीको विकास गराउन पनि निर्देशन दिइएको जानकारी दिनुभयो।

More News last news
Loading...