पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । कास्कीमा पनि सेवाग्राहीका चाप थेगिनसक्नु छ । सेवाग्राहीको चाप र गुनासो बढ्दै गएपछि प्रशासनले दुई घण्टा बढी सेवा दिने निर्णय गरेको छ । निर्णय अनुसार कास्की जिल्ला प्रशासन कार्यालय अबदेखि बिहान ८ बजेदेखि खुल्ने छ ।
कास्कीको प्रमुख जिल्ला अधिकारीमा भरतमणि पाण्डे आएसँगै कार्यालयमा नयाँ नियम लागू भएको हो । थपिएको बिहान ८ देखि १० बजेसम्म सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीले मात्रै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिन पाउनेछन् ।
प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘यसपूर्व राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेका तर राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेका सेवाग्राहीले यसपूर्व फोटो खिचाएको निस्सा र सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपिसहित कार्यालयको कोठा नम्बर २०३ मा प्रशासकीय अधिकृत भीष्मराज अर्याल (मोबाइल नम्बर ९८४१६८११८६) सँग सम्पर्क गरी राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्नु हुन अनुरोध छ।’
राष्ट्रिय परिचयपत्रसम्बन्धी कुनै दुविधा भई केही बुझ्नुपर्ने भएमा वा गुनासो भएमा कार्यालयको कोठा नम्बर २०५ मा प्रशासकीय अधिकृत मुकुन्दराज पौडेलसँग सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
