समिक्षा पाण्डे
काठमाडौँ । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर लण्डनमा बुद्ध जयन्ती २०२४ को भव्यताका साथ मनाईएको छ। दक्षिण पूर्वी लण्डनको वुल्विच स्क्वायरमा आयोजित कार्यक्रममा विदेशी पाहुनासहित सयौं नेपालीहरू सहभागीतामा बुद्ध जयन्ती भव्यताका साथ मनाईएको हो।
२०१६ देखि निरन्तर बुद्ध जयन्ती को अवसरमा कार्यक्रम गर्दै आएको फाउन्डेसनले यस बर्ष अझ भव्यताका साथ कार्यक्रमको आयोजना गरेको बुद्व फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए। बुद्ध नेपालमा जन्मेका हैनन् भनेर भ्रम फैलिएको र लुम्बिनी नेपालमा नभई भारतमा पर्ने भनेर प्रचार गरिएकोले अन्तर्राष्टिय स्तरमा बुद्धको देश भनेर चिनाउनकै लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए।
कार्यक्रमस्थलमा बुद्धका मूर्तिहरू, बौद्ध दर्शन सम्बन्धी चित्रकला, नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका सामग्री सहित ठूलो स्क्रिनमा नेपाल सम्बन्धी प्रदर्शनी सहित मौलिक नेपाली पहिरनमा सयौं नेपालीको उपस्थितिले कार्यक्रमस्थल नेपालमय बनेको थियो।

नेपालबाट ल्याइएको साढे तीन फिट अग्लो बुद्ध एवं बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा आकर्षण थपेका थिए। कार्यक्रममा विभिन्न सांगीतिक नाचगान सहित नेपालका विभिन्न जातजाति र वेशभूषा झल्किने प्रस्तुति गरिएको थियो।
लण्डन स्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोगमा बुद्धजयन्ती कार्यक्रम हुँदैं आएको छ। कार्यक्रमका लागि लण्डको वुल्विचलाई काठमाडौंको स्वयम्भुको झल्को आउने गरी सिंगारिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
