इलाम । इलाम–२ मा अहिले बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । अहिले बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए ।
सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुनेछ ।
इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएप्छि यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।
बझाङमा १० बजेदेखि मतगणना
बझाङमा मतपेटीका संकलन सकिएको छ । बझाङ–१ नम्बर प्रदेशसभा (१)को उपचुनावअन्तर्गत शनिबार मतदान भएको थियो । सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए ।
आइतबार बिहानै साइपाल गाउँपालिकाका तीनवटा मतदान केन्द्रका मतपेटीका दुईपटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको हो । अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उनले बताए । सर्वदलीय बैठकलगतै १० बजेपछि मतगणना कार्य सुरू गरिने उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
