काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यतर नेपाली स्वदेश फिर्ता गर्न रुस सकारात्मक रहेको बताएको छ। नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी समकक्षी सेर्गेई लाभरोभबीच बिहीबार अपराह्न टेलिफोन वार्ता भएको थियो।
नयाँ प्रधानमन्त्री वा परराष्ट्रमन्त्री चयन हुँदा हितैषी मुलुकका समकक्षीले फोन गर्नु नयाँ होइन । तर, पछिल्लो समयको नेपाल–रुस सम्बन्ध र रुससँग नेपालले उठाउन खोजेका विषयवस्तुका दृष्टिले भने परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी समकक्षीबीचको फोनवार्ता ‘परम्पराको निर्वाह’ भन्दा केही विशेष हो ।
रुसी सेनामा रहेका नेपालीका विषयमा नेपाल र रुसबीच पहिलोपटक उच्चस्तरमा संवाद भएको हो । सो क्रममा मन्त्री श्रेष्ठले युक्रेन–रुस युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रुसका विदेशमन्त्रीसँग आग्रह गरेका थिए ।
मन्त्री श्रेष्ठले गरेको आग्रहमा रुसी विदेशमन्त्री लाभरोभले सकारात्मक जवाफ दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । ‘हामी तपाईंको चासोमा सकारात्मक छौँ । रक्षा मन्त्रालयसँग सम्बन्धित विषय भएको हुनाले त्यहाँ आवश्यक समन्वय गर्छौँ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत नेपालीलाई चरणबद्ध रूपमा स्वदेश फर्काउन रुस तयार रहेको बताएका छन्। रुसको विदेश मन्त्रालयले कूटनीतिक पत्राचारमार्फत प्रतिबद्धता जनाएको साउदको दाबी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
