अब पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिने

काठमाडौँ । दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशतको समर्थन जुटाउनु पर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको समयमा केन्द्रीय समितिका २० प्रतिशतले दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याइएको थियो ।

२०७८ भदौ ११ गते ल्याएको अध्यादेश खारेज भएपछि राजनीतिक दलसम्बन्धी विधेयक २०७३ को साबिक व्यवस्था गर्न सरकारले संसद्‌मा विधेयक ल्याएको हो । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक टेबल गरेका हुन् ।

Advertisement

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्था कायम राख्न विधेयक ल्याइएको मन्त्री श्रेष्ठले बताए । नेकपा एमाले विभाजन गरेर नेकपा एस गठनका लागि सहज बनाउन देउवाले सो अध्यादेश ल्याएका थिए ।

गत शुक्रवार नै संसद्‌मा विधेयक टेबल गर्ने कार्यसूची रहेपछि गणपूरक संख्या नपुग्दा पेश हुन सकेको थिएन । विधेयक टेबल गरेसँगै प्रतिनिधि सभा बैठक फागुन १४ गते सोमवारसम्मका लागि स्थगित भएको छ ।

More News last news
Loading...