कांग्रेस महासमिति बैठक भोलिदेखि, झण्डै २५ क्षेत्रमा सदस्य छान्नै बाँकी

जिल्ला सभापतिले पनि भाग लिन पाउने

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमबार) देखि सुरू हुने भएको छ। सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने भएका छन्।

महासमितिका लागि तयारी अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।उनका अनुसार महासमिति बैठकबारे जानकारी दिन आइतबार दिउँसो साढे २ बजे गोदावरीमै पत्रकार सम्मेलन हुनेछ।

Advertisement

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पेश हुनेछ। खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि पेश गर्नेछन्।

महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउँछन्। पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन्छन्।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्।

महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने हुन्छ। महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन।

कांग्रेसले कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न सकेको छैन। छानेका काठमाडौं क्षेत्र नम्बर ३, दोलखा र ओखलढुंगामा विवाद देखिएको छ। कांग्रेस महासमिति बैठक नीति बनाउन केन्द्रित रहनेछ।

More News last news
Loading...