काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीबाट अलग भई मोहन वैद्यसँगै रहेका नेत्रविक्रम चन्द विप्लव वैद्यसँग २ वर्ष पनि टिक्न सकेनन् । वैद्यसँग सम्बन्ध विच्छेद गर्दै नयाँ पार्टी बनाएका विप्लवले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा नै फर्किए ।
पछिल्लो समय सत्तारुढ दलहरु संलग्न समाजवादी मोर्चामा जोडिएका विप्लवले संसदीय राजनीतिमा फर्किने संकेत दिन थालेका छन् । १० वर्षे जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी क्षतविक्षत बन्न पुग्यो । युद्धका कमाण्डर प्रचण्ड संसदीय भाषमा पुगेको भन्दै वैद्य–विप्लव लगायतको ठूलो समूह २०६९ सालमा अलग भई नयाँ पार्टी बनाएका थिए । तर त्यसको दुई वर्ष नपुग्दै वैद्यबाट पनि क्रान्ति नहुँदै निश्कर्ष निकाल्दै विप्लव पुनः छुट्टिए ।
वैद्य समूहबाट अलग भई हिंसात्मक गतिविधि थालेपछि सरकारले विप्लव समूहलाई सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । वैद्यबाट अलग भई हिंसात्मक बाटो समातेका विप्लवले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २० गते तीन बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा नै आउने उद्घोष गरे ।
आफूलाई संसदीय ब्यवस्थाको कट्टर विरोधी भन्दै आएका विप्लवले पुनः संसदीय राजनीतिमा आउने संकेत गरेका छन् ।गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा लड्ने नीति अख्तियार गरेपछि विप्लव समूहमा अन्तरविरोध देखा परेको थियो ।
त्यही अन्तरविरोध उत्कर्षमा पुग्दा धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली लगायतको समूह विप्लवबाट अलग भएका थिए । बास्तोला समूहको विभाजनपछि विप्लव सत्तारुढ दलहरुसँग नजिकिएका हुन् ।
सत्तारुढ दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसँगै समाजवादी मोर्चा बनाएर सत्ता निकट बन्दै गएका विप्लवले शनिवार मात्रै बुटवलमा आयोजित कार्यक्रममा बोल्दै आफूले यहि ब्यवस्था भित्रै सत्ताको नेतृत्व गर्ने चाहना ब्यक्त गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
