पोखरा । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।
सङ्क्रमण फैलिँदै जाँदा ठूला तथा साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका महानिर्देशक डा। प्रेरणा सेढाईँ भट्टराईका अनुसार पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल एक सय १२ बङ्गुरको मृत्यु भएको छ ।
‘अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन’, महानिर्देशक भट्टराईले भने, ‘ जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित भएका छौँ ।’
गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण ‘आउटब्रेक’ भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार पाँच सय ५४ वटा बङ्गुर मरेको निर्देशनालयको तथ्याङ्क छ। कास्की जिल्लामा मात्र १५ हजार तीन सय ८८ वटा बङ्गुरको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
