काठमाडौँ । सुनसरीमा प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद गरेको छ। प्रहरीले एक हजार दरका नक्कली नोट बरामद गरेको हो।
सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जनाएअनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो। नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उहाँले बताउनुभयो।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो। शंका लागेर स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाएर राखेको नक्कली नोटहरु बरामद भएको हो। बोराभित्र झोलामा राखिएको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
गाडीका चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् भने गाडीमा रहेका अर्का व्यक्ति फरार छन्। प्रहरीका अनुसार गाडी भारतबाटै आएको देखिएको छ।
बरामद रकम, गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो। घटनाका बारेमा थप जानकारी दिन सुनसरी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
