झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताउनुभयो ।
“ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ”, उहाँले भन्नुभयो। मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि उहाँले आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गर्नुभयो।
अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताउनुभयो । नेपालमा जलविद्युत् मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने भन्दै उहाँले सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नुपर्ने बताउनुभयो।
कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिनुभयो । परियोजनास्थललाई पुष्प बगौँचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उहाँले बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
