काठमाडौँ । निर्वाचन आयोग नेपालले रिक्त संघीय क्षेत्र, प्रदेश क्षेत्र र स्थानीय तह र वडामा उपचुनाव गर्ने तयारी गरेको छ । जनप्रतिनिधिको निधन भएमा, पदबाट राजीनामा दिएमा, अदालतले अयोग्य ठहर गरेमा, वा सम्बन्धित दलको कारबाहीमा परेपछि जनप्रतिनिधिको पद रिक्त हुने कानूनी प्रावधान छ ।
इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ (१) सभा सदस्य पदमा उपचुनाव हुँदै छ । इलाम २ मा निर्वाचित सांसद् नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएपछि यो स्थान रिक्त छ । बझाङ प्रदेशसभा १ (१) सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका कांग्रेस सांसद पृथ्वीबहादुर सिंह सडक दुर्घटनामा मृत्यु भएपछि यो स्थान पनि रिक्त छ ।
यसैगरी, विभिन्न कारणले रौतहटको मौलापुर नगरपालिकाको प्रमूख, दैलेखको महाबु गाउपालिका प्रमूख, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमूख, दोलखाको गौरीशंकर गाउपालिका उपप्रमूख र बाजुराको स्वामिकार्तिक खापर गाउपालिकामा उपप्रमूख पद खाली छ ।
वडा कहाँ–कहाँ रिक्त छ ?

रिक्त वडाध्यक्षमा केहिको निधन भएको हो भने केहि माथिल्लो तहमा पुगेका कारण रिक्त भएको हो । दुई वडाध्यक्ष जिल्ला समन्वय समिति प्रमूखमा गएकाले स्थान रिक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन् । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छ । निर्वाचन आयोगले उपचुनावको तयारी गरेसँगै इलाम क्षेत्र नम्बर २ र प्रदेसभाको निर्वाचनमा भने दलहरुबीच रस्साकस्सी हुने देखिन्छ ।
स्थानीय तहको चुनाव भन्दा इलाम र बझाङ १ अति पेचिलो बन्ने देखिन्छ । बझाङमा कांग्रेसले स्वतस उम्मेदवार पठाउने सम्भावना बलियो छ भने इलामको चुनावमा सुवास नेम्वाङका छोरा सुहाङदेखि थुप्रै हेविवेट पराजित नेताहरुले नजर लगाइरहेका छन् । यता सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई उम्मेदवार बनाउने संकेत गरिसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
