काठमाडौं l नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो। अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
अफगानिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्यो। नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे।
त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे। देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो। तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए।
दीपक बोहरा नेपाललाई ६ रन चाहिएको बेला २७ रन जोडेर आउट भएका थिए। यस्तै ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालको नवौं विकेटको थियो। त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो। सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो।
आकासको उत्कृष्ट बलिङमा अफगानिस्तान १४५ रनमा अलआउट
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो। खेलमा नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए।
यससँगै आकास यू-१९ विश्वकपमा पाँच विकेट लिने नेपालका लागि चौथो बलर बने। यसअघि नेपालका लागि राहुल विश्वकर्माले सन् २०१२ मा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिँदा ३ रन मात्र खर्चिएका थिए। यो नेपालका लागि यू-१९ विश्वकपमा उत्कृष्ट बलिङ हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
