घट्यो पेट्रोल-डिजेलको भाउ, लिटरको कति ?

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। मंगलबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले सोमबारर एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा एक/एक रूपैयाँ घटाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ २६ पैसा र डिजेलमा ८३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

Advertisement

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६६ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५६ रूपैयाँ पर्नेछ। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

More News last news
Loading...