ताइवानको राष्ट्रपति चयनलाई लिएर चीन-अमेरिका वाकयुद्ध

काठमाडौं । ताइवानमा नयाँ राष्ट्रपति चयनसँगै अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नवनिर्वाचित राष्ट्रपति लाइ चेङ तेलाई बधाइ सन्देश पठाएसँगै बेइजिङले वासिंटनलाई कडा चेतावनी दिएको छ ।

लाइलाई बधाई दिँदै वासिङ्टनले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने प्रतिवद्धताको उल्लंघन गरेको बेइजिङको टिप्पणी छ । वासिङ्टनको बधाई सन्देशप्रति आक्रोशित हुँदै चीनले पोखेको आक्रोशबारे बीबीसीले लेखेको छ, ‘ताइवानको स्वतन्त्रता माग गर्नेहरुलाई बल पुर्‍याउने गरी बधाई दिँदै वासिङ्टनले गम्भीर गल्तीको संकेत दिएको छ ।’

Advertisement

नवनिर्वाचित राष्ट्रपति लाइ ताइवानको स्वतन्त्रताको प्रखर वकालत गर्ने पात्र हुन् । बेइजिङले नरुचाउने पात्रसँग सहकार्यको सन्देश सहित ब्लिंकेनले बधाई दिएका थिए । ब्लिंकेनको बधाई सन्देश उल्लेख गर्दै बीबीसीले लेखेको छ, ‘ताइवानको ठूलो सहयोगीको हैसियतमा यस क्षेत्रमा शान्ति र स्थायित्व स्थापनाका निम्ति हाम्रो सहयोग जारी रहनेछ । हाम्रो साझा हितको रक्षाका निम्ति लाइ र अन्य दलसँग सहकार्यका लागि हामी उत्सुक छौँ । अमेरिकी एक चीन नीतिको आधारमा हाम्रो अनौपचारिक सम्बन्ध लामो समयसम्म कायमै रहनेछ ।’

यस बधाई सन्देशमा अमेरिकाले एक चीन नीति अनुसार ताइवानसँग सहकार्य र सम्बन्ध कायम हुने बताए पनि बेइजिङ वासिङ्टनसँग खुशी छैन । ब्लिंकेनको बधाई सन्देशको बेइजिङमा व्यापक आलोचना भएको छ । कुनैपनि बहानामा ताइवानको राजनीतिक दल वा उम्मेदवारलाई समर्थन दिन नहुने चीनको भनाइ छ । यस्ता गतिविधिले त्यस टापुको स्वतन्त्रताको माग गर्ने पृथकतावादी समूहलाई बल पुग्ने बेइजिङको भनाइ छ ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ताइवानको मामिलामा कुनैपनि बहानामा हस्तक्षेप गर्ने वा औपचारिक संवाद गर्ने गतिविधिलाई चीनले स्वीकार्दैन । अमेरिकाको यस कदम ताइवानसँग सांस्कृतिक र वाणिज्यको अनौपचारिक सम्बन्धको प्रतिवद्धा विपरीत छ ।’

ताइवानको नतिजा आउनुअघि अमेरिकाले अनौपचारिक रुपमा प्रतिनिधिमण्डल पठाउँदै त्यहाँका नेताहरुसँग संवाद गराएसँगै बेइजिङ वासिङ्टनसँग थप रुष्ट छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र विदेश उपमन्त्रीलाई त्यहाँ पठाएका थिए । बाइडेनले समेत ताइवानका नवनिर्वाचित राष्ट्रपतिलाई बधाइ दिएका छन् ।

More News last news
Loading...