काठमाडौँ । ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो।
कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको हो।
यसअघि उनीहरूका लागि आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
विभागको महानिर्देशकको निर्णय अनुसार उक्त म्याद २ दिन थप गरिएको हो । आवेदन आह्वान गरिएको पहिलो दिन पुस १६ गते प्राविधिक कारणले अनलाइनमा समस्या आएको थियो । त्यस्तै मानवीय समवेदनालाई समेत मध्यनजर गर्दै २ दिन म्याद थप गर्ने निर्णय गरिएको महानिर्देशक घिमिरेले बताए ।
आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै पानी जहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि उच्च अदालतले इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो।
यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फारम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो। त्यो क्रममा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका थिए भने पानी जहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
