नेपाली युवती दिल्लीमा लगेर यौन व्यवसाय चलाएको आरोपमा स्याङ्जाका दुई जना पक्राउ

काठमाडौँ । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया टीकाकुमारी वली छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई पुस ११ गते कञ्चनपुरको सीमा इलाकाबाट पक्राउ गरेको हो।

उनीहरूले दिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइसमेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट युवतीहरू लगेर वेश्यावृत्तिमा लगाएको आरोप छ। वेश्यावृत्तिको धन्दा चलाउन उनीहरूले अपार्टमेन्ट भाडामा लिएका थिए।

Advertisement

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीका अनुसार उनीहरूले दिल्लीको किशनगढमा अपार्टमेन्ट भाडामा लिएर खाने, बस्ने व्यवस्थासमेत मिलाई वेबसाइटमार्फत विज्ञापन गरी अनलाइन वेश्यावृत्तिको र्‍याकेट चलाउने गरेको पाइएको छ। अनलाइन वेश्यावृत्तिका लागि ह्वाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन पेमेन्ट गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेको अनुसन्धानमा खुलेको छ।

वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामेरा जडान गर्नुका साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिमसमेत उपलब्ध गराई ह्वाट्सएप, फेसबुक आईडी बनाएर पासवर्ड आफैंले राखी अनलाइन निगरानी गर्ने गरेको पाइएको छ।

उनीहरूले वेश्यावृत्तिबाट कमाई भएको रकमको २० प्रतिशत मात्र युवतीहरूलाई दिने र बाँकी ८० प्रतिशत रकम आफैंले लिने गरेका थिए।पक्राउ परेका अभियुक्तहरूले भारत पर्‍याएका ९ जना युवतीहरूलाई ब्यूरोको समन्वयमा ७ चैत, २०७९ मा उद्धार गरिएको थियो।

२०७९ चैतमा यी दम्पत्तीसहित विरूद्ध ६ वटा मुद्दा दर्ता भएकामा ती मुद्दाहरूमा ३ जना प्रतिवादीहरू पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा छन्।

More News last news
Loading...